बिरामीलाई रगत जुटाउनै गाह्रो

0
88

रुपिस कार्की   भदौ ८, २०७७ सोमबार ८:४२:४५

बुटवल – काठमाण्डाैकी रेखा शाक्यलाई गएको शनिबार अकस्मात एबी पोजेटिभ रगत जुटाउनुपर्ने भयो । वृद्ध आमा लडेर तत्काल अप्रेशन गर्नुपर्ने भएकाले उहाँलाई तत्काल २ पाउन्ड रगत चाहिएको थियो । 

पुल्चोकको सुमेरु सिटी अस्पतालमा आमालाई भर्ना गरेर रगत संकलनका लागि विभिन्न ठाउँमा फोन गर्नुभयो । तर कतै रगत पाउनुभएन । डाक्टरले २ घण्टाभित्रै अप्रेशन गरिसक्नुपर्ने बताइएकाले उहाँलाई जसरी पनि छिटोभन्दा छिटो रगत संकलन गरिसक्नुपर्ने थियो । 

आफ्नो सम्पर्कमा कोही थिएनन् । कहाँबाट कसरी रगत पाइन्छ त्यति धेरै ज्ञान पनि थिएन । उहाँले ब्लड बैँकमा फोन गर्नुभयो । रगत छैन भनियो । अरु विभिन्न ठाउँमा फोन गर्नुभयो, रगत पाउन सक्नुभएन ।  त्यसपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा रगत आवश्यकता भएको भनेर स्टाटस पोस्ट गरेपछि बल्ल रगत भेटियो । अल्का अस्पतालमा एक जना बिरामीलाई एबी पोजेटिभ रगत चाहिने भन्दै किनिएको रहेछ । तर नपरेपछि त्यही रगत उहाँले पाउनुभयो । उहाँ त्यही रगत लिएर पुल्चोकमा रहेको रेडक्रसमा म्याचिङ गर्न जानुभयो ।

तर पुल्चोकमा रहेको रेडक्रसले अल्काका बिरामीले लिएको रगत भनेर क्रस म्याचिङ गर्न मानेन । पछि उहाँले सुमेरु सिटीकै डाक्टरको सल्लाहमा अर्कै ठाउँमा गएर क्रस म्याचिङ गर्नुभयो र आमाको अप्रेशन सफल भयो ।हिजोआज धेरै बिरामीले यसैगरी चाहिएको बेलामा रगत पाउन सकेका छैनन् । कतिको त समयमै रगत नपाएर ज्यानसमेत जाने गरेको छ । अहिले कोरोनाको जोखिम बढ्दै गएको छ । देशका विभिन्न ठाउँमा निषेधाज्ञा गरिएको छ । रगत दान गर्ने दाताको अभाव लगायतका कारणले ब्लड बैँकहरुले रगतको अभाव भएको बताएका छन् । 

यसअघिको लकडाउन र अहिलेको निषेधाज्ञाका कारण रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून संख्यामा रगत स्टक रहेको छ । कतिपय बिरामीका आफन्त रगत अभावमा ब्लड बैँकबाट रित्तै हात फर्किएका छन् ।

रक्तदानका लागि बुक गरिएका क्याम्पहरु पनि सबै स्थगित भएका छन् । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुती, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरुका लागि जतिबेला पनि रगतको आवश्यकता पर्छ । तर रगतको अभावका कारण उनीहरुले समस्या भोग्दै आएका छन् । 

जस्तोसुकै अवस्थामा पनि रगत अभाव हुनु हुँदैन  

नेपाल ब्लड डोनर्श एशोसिएसनका अध्यक्ष सानुबाबु श्रेष्ठ बजारमा रगतको अभाव हुनै नहुने बताउनुहुन्छ । उहाँ भन्नहुुन्छ, ‘रगतजस्तो चिज पनि अभाव छ भनेर हुन्छ र ? जसरी पनि जुटाउनुपर्छ नि । रगतको विकल्प हुँदैन । नभएर पनि हुँदैन ।  रगत छैन भनेर बिरामीलाई मर्न दिन त भएन नि । जस्तोसुकै अवस्थामा पनि रगत संकलनको काम रोकिनु हुँदैन । जसरी भए पनि व्यवस्थापन गरिनुपर्छ ।’

समयमै तयारी र छलफल नगरिएकाले अहिले रगत संकलनका लागि जटिलता भएको भएको श्रेष्ठ बताउनुहुन्छ । एकातिर  कोरोनाका कारण मानिसहरु हिँडडुल गर्न डराउँछन्  । अर्कातिरको सङ्क्रमित छ छैन भन्ने  पनि थाहा छैन । अहिले समाजमा १, २ जना मात्रै सङ्क्रमित छैनन्, समुदायमै फैलिसकेको छ । फेरि कसको रगत लिने र कसको नलिने भन्नेमा पनि अन्योल नै छ । त्यसले गर्दा दाता पनि रगत दिन र संकलन गर्न डराएका हुन सक्ने उहाँ बताउनुहुन्छ ।  बिरामीले रगत नपाएर मर्नु पर्ने अवस्था आयो भने त्यो झन् घातक हुने उहाँ बताउनुहुन्छ ।  

कतिपय संस्थाले  रगत संकलनका लागि निर्धारण गरेको कार्यक्रमसमेत स्थगित गरेका छन् । यसो गर्नु न्यायसंगत नभएको उहाँ बताउनुहुन्छ । आफ्नो संस्थाबाट भने रगत संकलनका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हामी रगत अभाव नहोस् भनेर लागिरहेका छौँ ।’ तर केही स्वयंसेवीले मात्र प्रयास गरेर समस्याको समाधान हुने नसक्ने उहाँ बताउनुहुन्छ । रक्तदान कार्यक्रम सञ्चालन र मिल्नेजति सबैलाई दान गर्न पनि उहाँको आग्रह छ ।  

रगतकोभन्दा पनि सामाजिक भावनाको कमी 

जीवनमा १ सय ६२ पटक रगत दान गरिसक्नुभएका प्रेमसागर कर्माचार्य बजारमा रगतको भन्दा पनि समर्पणको भावनाको कमी भएको बताउनुहुन्छ । 

रगत दिनका लागि दाताहरु तयारी अवस्थामा छन् । व्यवस्थापनमा कमी भएर मात्र रगत अभाव भएको उहाँ बताउनुहुन्छ । सम्बन्धित निकायले बेलैमा ध्यान दिन नसकेकाले बजारमा रगतको अभाव भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले केही हदसम्म रगतको अभाव हो ।  तर राम्रोसँग ब्यवस्थापन गर्न सकेको भए खासै समस्या हुँदैन थियो ।’  

चैतमा भएको लकडाउनको समयमा सरकारले अति आवश्यकबाहेकका अप्रेशन सेवा रोकेको थियो । गर्भवती, सुत्केरी र दुर्घटनामा परेकाहरुको मात्रै अप्रेशन हुने गरेको थियो । अरु अप्रेशन रोकेकाले रगतको धेरै अभाव भएको थिएन । तर अहिले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ  । सबै खालका अप्रेशन पनि भइरहेको छ । यसले गर्दा रगतको माग बढेको छ ।  रगतको विकल्प अरु हुनै नसक्ने  भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने उहाँको भनाइ छ । 

‘हामीले  स्वयंसेवी रुपमा दिनरात नभनी रगत दान गरेका छौँ । संकलन गरेका छौँ’ उहाँ प्रश्न गर्नुहुन्छ, ‘तर त्यही रगत संकलनको काम गर्ने भनेर जागिर खाएका र तलब थाप्नेहरुले रगत संकलन गर्न किन सकेनन् ?  रगत छैन जानुहोस् भनेर बिरामीका आफन्तलाई  फर्काउन मिल्छ ?’ रगतको अभाव होइन, समर्पण र सेवाको भावना नभएको  उहाँको भनाई छ । 

रगत दान गर्न आग्रह 

केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून संख्यामा रगत सञ्चित रहेकोले चिन्ता थपिएको रेडक्रसले जनाएको छ । गएको शनिबार एउटा पनि रक्तदान शिविर सञ्चालन भएन । पहिला निर्धारण गरिएका शिविर पनि स्थगित भए । गएको बिहीबार रगत लिन पुगेका ६१ जना र शुक्रबार २६ जना रित्तो हात फर्किएका केन्द्रीय रक्तसञ्चार केन्द्रका प्राविधिक श्रवण श्रेष्ठले बताउनुभयो । 

बिरामीका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा पुगेका, तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिनुभयो । धरान, विराटनगर, चितवन लगायतका ठाउँमा पनि रगत अभाव भइरहेकोे रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । रेडक्रसले रक्तदान शिविर सञ्चालन गर्न र केन्द्रमै गएर रगत दिन पनि विभिन्न संस्था र नागरिकसँग अनुरोध गरेको छ । 

देशभर ७३ वटा ब्लड बैंक रहेका छन् । यद्यपि अधिकांश ब्लड बैंकमा रगत संकलन हुन सकेको छैन ।  रक्तदान कार्य ठप्प हुँदा अहिले केन्द्रीय रक्त सञ्चार र जिल्ला जिल्लामा रगत आवश्यक पर्ने बिरामीहरू निकै मारमा परेका छन् । ब्लड बैंक, अस्पताल र केन्द्रीय रक्त सञ्चार सेवामा रगतको अभाव खड्किएपछि सामाजिक सञ्जालमा रगत आवश्यकता भन्दै माग गर्नेहरु पनि बढेका हुन्। 

सामान्य अवस्थामा केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक १ सय ५० पिन्ट रगत संकलन हुने गरेकामा अहिले  शून्य प्रायः छ । देशभर रक्तदानका लागि क्याम्पहरूसमेत सञ्चालनमा आउन सकेका छैनन् । लकडाउनअघि केन्द्र मातहत मात्रै दैनिक चारदेखि सात वटासम्म क्याम्प हुने गरेको थियो । लकडाउन र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले अत्यन्तै न्यून संख्यामा रगत मौज्दात रहेको पाइएको छ ।

सुरक्षित तवरले रक्तदान गर्दा र गराउँदा कोभिड-१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले यसअघि नै स्पष्ट पारिसकेको छ । डाक्टरका  अनुसार स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा त्यसभन्दा माथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ । 

यस्तै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह, यौनरोग तथा एचआईभी र एड्स नलागेको व्यक्तिले रक्तदान गर्न सक्छन् । गर्भवती र महिनावारीको समयमा भने रक्तदान गर्नु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here